
काठमाण्डु, २५ कातिक– काठमाण्डु महानगरपालिकाले तिहारका लागि अति आवश्यक सयपत्री फूलको माला विक्रीका लागि ४ स्थान तोकेको छ ।
महानगर प्रमुख बालेन शाहको निर्देशनमा भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएका छन ।
आज शनिवार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबिच छलफल कार्यक्रम राखिएको थियो ।
सो अवसरमा काठमाण्डु महानगरपालिका र पुष्प व्यवसायीहरु बीचको छलफलमा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि कृष्णमान श्रेष्ठले महानगरपालिकालाई धन्यवाद दिएका छन ।
नेपाल फ्लोरीकल्चयर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अघिल्लो वर्षको तिहारमा भारतबाट फूल आयातमा बन्देज लगाएका कारण यो वर्ष नेपाली किसान उत्साहित भएको जानकारी दिएका छन ।
उनले यो वर्ष अघिल्लो वर्षभन्दा धेरै सयपत्री फूल खेती भएको बताउँदै झन्डै २ सय विघाहा भन्दा बढी जमिनमा फूल लगाएको बताएका छन ।
यो वर्ष ८० प्रतिशत नेपाली सयपत्री फूलले धान्ने २० प्रतिशत जति नपुग हुने अनुमान गरेको भए पनि भारतबाट ठुलो मात्रामा फूल आयात अनुमति दिएको बताए ।
भन्सारबाट सयपत्री फूल आयतका लागि ५८ वटा अनुमति दिएकोमा फ्लोरिकल्चर एसोसिएसनले ध्यानाकर्षण गराएपछि ४८ वटा अनुमति कार्तिक २३ गते रद्द भएको बताएका छन ।