
काठमाण्डु, २५ कातिक– कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन ।
कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि आज शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जसमा जाडो सुरु हुनुअघि नै भूकम्प पीडितलाई जाडो छेक्ने अस्थायी आवासमा राख्नुपर्ने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले मंसिर महिनाभित्र ५०–६० हजार अस्थायी आवास बनाउन नसके त्रिपालले मात्र पुसको जाडो छेक्न नसक्ने बताएका हुन ।
उनले भने, ‘त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिनाभित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठूलो भयावह स्थितिको सिर्जना गर्छ ।’
उनले भत्केकै घरको धेरैजसो सामान प्रयोग गरेर र केही सामान बजारमा किनेर ३५ हजार रुपैयाँसम्ममा जाडो छेक्ने अस्थायी आवास बनाउन सकिने आफूहरुले जाजरकोटको नलगाड र खलंगामा गरेको प्रयोगले देखाएको पनि बताएका छन ।