
काठमाण्डू, २६ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन सहित पत्र पठाएको छ ।
साथै दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नामसहितको विवरण समेत प्रधानमन्त्री कार्यालयले मागेको छ । यदि यो निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई यही जेठ २१ गते चेतावनीयुक्त पत्र लेखेर कानुन विपरीत कर्मचारी खटनपटन नगर्न निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता प्रेम प्रसाद आचार्यले गृह र सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरीएको जानकारी दिएका छन ।
उनले भने, ‘अख्तियारमा भिजिट भिसा प्रकरणमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको भनेर उजुरी परेको थियो र आवश्यक कारबाहीका लागि भनेर अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । त्यसअनुसार प्रचलित कानुनी व्यवस्था सम्झाउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न भनिएको हो ।’