
काठमाण्डु, २४ कातिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक आन्दोलन र परिवर्तनमा रोल्पा जिल्लाले गरेको योगदानलाई इतिहासले बिर्सिन नसक्ने दाबी गरेका छन ।
आज शुक्रवार दिउँसो रोल्पाको सदरमुकाम लिवाङमा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले जनवादी क्रान्तिमा रोल्पा जिल्लाले खेलेको भूमिका अग्रणी रहेको बताएका छन् । उनले भने, ‘रोल्पा क्रान्तिको आधार इलाका हो, परिवर्तनको महत्त्वपूर्ण आधार हो।
इतिहास, त्याग र बलिदानको प्रतीक हो। शान्ति र निर्माणको पनि प्रतीक हो। नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको स्थापनामा रोल्पा जिल्लाको धेरै ठुलो योगदान छ। यो योगदानलाई इतिहासले बिर्सिन सक्दैन।’
‘गणतन्त्रपछि रोल्पाको विकास गुणात्मक छ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, बिजुली लगायतका क्षेत्रमा राम्रो प्रगति भएको छ। तर यो पर्याप्त छैन ।’ प्रधानमन्त्रीले भने, ‘मेरो नेतृत्वमा गठन भएको वर्तमान सरकार सुशासन, विकास र सुशासनको लक्ष्यसहित अगाडि बढेको छ।
तपाईँहरूले सुन्नुभएकै होला, थुप्रै भ्रष्टाचारीहरू जेलमा छन्, भू९माफियाहरूमाथि कारबाही थालिएको छ। जनताको आशा र विश्वासको वातावरण बन्दै गएको छ।’