भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४००

काठमाण्डु टुडे २०७१ साउन १९ गते १०:२३ मा प्रकाशित

बेइजिङ, १९ साउन – चीनको दक्षिणपश्चिमी भागमा अवस्थित युनान प्रान्तको पहाडी भागमा आइतबार गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ४०० व्यक्तिको मृत्यु भएको छ ।

 china यस भूकम्पबाट एक हजार ८०० व्यक्ति घाइते भएका बताइएको छ ।

युनान प्रान्तको सरकारले पाँच हजार प्रहरी र अग्नीनियन्त्रकसहित सात हजार उद्धारकर्तालाई भूकम्प प्रभावित सहर जाओटोङ्ग र किजिङ्गमा पठाइएको बताएको छ ।

उद्वार कार्य जारी रहेको छ तर पनि लगातार जारी रहेको अविरल वर्षाको कारण उद्धारकार्यमा कठिनाई परेको जनाइएको छ ।

यस भूकम्पको कारण सोमबार बिहान ८ बजेसम्म झाआटोङ्ग सहरबाट २९ हजार ४०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ ।

सोमबार बिहान सबेरैको सरकारी तथ्याङ्कअनुसार जाहोटोङ्ग सहरका अनुसार ५७ हजार दुई सय व्यक्ति सुरक्षित स्थानमा नै रहेका र उद्वारको पखाईमा रहेका छन ।

सो सहरमा यस भूकम्पको कारण नौ लाख ८० हजार व्यक्ति प्रभावित भएका छन् । साथै भूकम्पबाट ११ हजार ४०० घर भत्किएको र २४ हजार घर क्षतिग्रस्त भएको युनान प्रान्तका प्रवक्ताले जानकारी दिएका छन् ।

चीनको भूकम्पसम्बन्धी कार्यालयका अनुसार भूकम्प प्रभावित इलाकामा सोमबार बिहान ८ बजे सम्म ४११ पटक स–साना भूकम्पका धक्का महसूस गरिएको छ ।

ती भूकम्पका धक्काहरुको मापन ३.० देखि ४.९ रेक्टर स्केलसम्मको गरिएको बताइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले भने सो भूकम्प ६.१ रेक्टर स्केलको मात्र भएको जानकारी दिएको थियो ।

आइतबार  अपरान्ह्मा गएको सो भूकम्पको केन्द्रविन्दु भने लुडिआन जिल्लादेखि २३ किलोमिटर दक्षिणपश्चिम पर्ने लोङ्गटोउसान नगरमा रहेको थियो ।

सो भूकम्प १२ किलोमिटर गहिराइसम्म गएको जनाइएको पनि समाचारमा उल्लेख गरिएको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us