हाम्रो मेहनताका कारण एसईईको नतिजामा सुधार आयोः ओली

काठमाण्डु टुडे २०८२ असार १३ गते २१:४३ मा प्रकाशित

काठमाण्डू, १३ असार– प्रधानमन्त्री केपी ओलीले आफूहरुको मेहनतका कारण एसईई परीक्षाको नतिजा सुधार भएको जिकिर गरेका छन् ।

गत चैतमा सम्पन्न एसईई–०८१ को नतिजा सार्वजनिक भएलगत्तै शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले आफूहरुका कारण नतिजा सुध्रिएको दाबी गरेका हुन् ।

ओलीले ग्रेडेड भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिएका छन् । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए । यो गत वर्षको तुलनामा करिब १४ प्रतिशतले धेरै हो ।

गत वर्ष ४८ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका थिए । ‘बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।

ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला’, ओलीले ढाडस दिँदै भनेका छन्, ‘सफलताको अर्को दिन पनि आउने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us