काठमाण्डू, १३ असार– राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संसदबाट निकालेर सडकमा पठाएपनि पार्टी सडकमै संसद चलाउन तयार रहेको बताएका छन । संसद अवरोधलाई लिएर आफ्नो दललाई संसदबाट निकालेर सडकमा पठाएपनि सडकमै संसद चलाउने तर जनताका मुद्दा छाडेर सम्झौता नगर्ने उपसभापति वाग्लेको तर्क छ ।
आज (शुक्रबार) रुपन्देही क्षेत्र–३ को शुद्धोधनमा पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान उद्घाटन गर्दै उपसभापति डा.वाग्लले यस्तो बताएका हुन । उनले अहिले रास्वपाका १९ जना सांसद नै सत्ता पक्षलाई भारी भएको पनि बताएका छन । गत आम चुनावमा रवि लामिछानेले ४–५ महिनाकै तयारीमा १२ लाख भोट र २१ जनालाई सांसद जिताएपछि पुराना दलहरू आत्तिएको बताएका छन् ।
रवि र रास्वपाको लोकप्रियताबाट तर्सेर सरकारले रविमाथि सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको उनको आरोप छ । उनले न्यायालयले अन्तिममा न्याय दिने विश्वास रहेपनि पार्टीलाई बलियो बनाउने अभियान छाड्न नहुने पनि बताएका छन । सभापति लामिछानेलाई जेलमा दुःख दिएर राखेको कुरा जनताले राम्रोसँग बुझिसकेको वाग्लेले जिकिर गरे ।
उनले भने, ‘रविमाथि प्रतिशोधमाथि प्रतिशोध साँधेको छ, उस्तै उस्तै केसमा अरूलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाउने, १८ करोडको आरोप लागेका पूर्व प्रधानमन्त्रीलाई एक घण्टामै सफाई दिएर ३५ लाख बुझाएर जाऊ भनेर पठाइदिने तर रविलाई चाहिँ ४–५ वटा जिल्लामा हरेक जिल्लामा ३–३ वटा मुद्दा, २–२ वटा अदालत सर्वोच्च गरेर ४०–४५ वटा उल्झन् अवरोध खडा गरिएको छ ।’
उनले थपे, ‘यद्यपि नेपालको न्यायालयप्रति अन्तिम आशा र भरोशा हामीलाई छ,अन्ततः उहाँले सफाइ पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं ।’ वाग्लेले करोडौं धरौटी लिएपछि बाहिर बसेर पनि मुद्दा लड्न दिनुपर्नेमा सरकार पहिल्यै त्रसित भएर रविलाई थुनामा राखेर दुःख दिएको पनि बताए ।