
काठमाण्डू, १३ असार– गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले जानकारी दिए ।
उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५–२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा रहेको प्रहरीले जनाएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट करिब ६–७ किलोमिटर दक्षिणपश्चिममा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।