
काठमाण्डु, २१ कातिक– भारतबाट नेपाल भ्रमणमा आएकी एक युवतीको तिनाउ नदीमा डुबेर मृत्यु भएको छ ।
भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको तिनाउ जल विद्युतको ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।
फोटो खिच्ने क्रममा ड्याममा खसेकी प्रवीणको प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएको छ ।
मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक प्रविण शिक्षकहरु सहित २०–२५ जनाको टोलीमा भारतबाट घुम्न आएकी थिइन् ।
उक्त ड्याममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय निकायले दुर्घटना रोक्न पहल गरेको देखिंदैन ।