
काठमाण्डु, २१ कातिक– शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल सकिएको छ । आज मंगलबार सिंहदरबारमा भएको छलफलमा विशेषगरी १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताकाबीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेका ब्यवधानका बारेमा नेताहरुले आ–आफ्नो तर्फबाट धारणा प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौलाले भने, ‘शान्ति, संविधान र व्यवस्थाप्रति जसरी आक्रमण र भड्काउने प्रयास भएको छ त्यसबारेमा सबै दलका नेताहरूले धारणा राख्नुभयो , विशेष गरी व्यवस्था जोगाउने कुरामा सबैको एक मत देखियो ।’
त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने बताएको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
छलफलमा सहभागी दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकपछि माओवादी नेतृ पम्फा भुसालले परिवर्तनकारी राजनीतिक दलका नेताहरु खासगरी कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले गणतन्त्र, संघीयता र संविधानप्रति प्रतिबद्ध रहेको धारणा राखेको भन्दै त्यसका लागि आगामी दिनमा एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको जानकारी दिएकी छन ।