इजरायली आक्रमणमा १८२२ प्यालेस्टाइनी मारिए

काठमाण्डु टुडे २०७१ साउन १९ गते ७:४३ मा प्रकाशित

प्यालेस्टाइन , १९ साउन – इजरायलले गाजामा जारी राखेको आक्रमणमा परी त्यहाँका एक हजार ८२२ प्यालेस्टाइनी मारिएका छन् ।

प्राप्तसमाचारअनुसार इजरायलले सोमबार पनि बिहानैदेखि हवाई हमला सुरु गरेको छ । सो हमलामा परी सोमबार बिहान १० जना प्यालेस्टाइनी मारिएका छन् ।

शुक्रबार बिहानमात्र ७२ घण्टे युद्धविरामको घोषणा गरेको इजरायलले त्यसपछि पनि आक्रमणमा भने कमी ल्याएको छैन । सो आक्रमण जारी नै रहँदा त्यहाँबाट भाग्ने सर्वसाधारणको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

युद्धविरामको पालना नभएपछि शान्तिवार्ताका लागि विभिन्न क्षेत्र र तहबाट पहलहरु भएका छन् । तर भरपर्दाे परिणाम भने निस्किएको छैन ।

इजरायलाको तर्फबाटै आइतबार पनि आक्रमण जारी रहेको बताइएको थियो । आइतबार पनि लगभग दिनभर नै आक्रमणहरु भएका थिए ।

प्यालेस्टाइनीहरुले सोमबार पनि इजरायलले शक्तिशाली हमला गरेको जनाएका छन् । उक्त सहरमा भएको हमलमा पाँचजना मारिएका छन् ।

गाजाको आकस्मिक सेवाका निर्देशक आसरफ क्वार्दीले दिएको जानकारीअनुसार इजरायली सैनिकले सोमबार बिहान गाजाको उत्तरी क्षेत्रमा हमला गरेका थिए ।

ती हमलामा परी अरु कयौं नागरिक घाइते भएका पनि ती निर्देशकले जानकारी दिए । गाजाको उत्तरी सहर जाबिलामा हमला गरेका थिए ।

त्यसैगरी अन्य सहरहरु जेइतिन र शेख रदवानमा पनि सो हमला भएको थियो । ती सहरमा सोमबार गरिएको हमलामा परी पाँचजनाको ज्यान गएको बताइएको छ ।

प्यालेस्टाइनीहरुले दिएको जानकारीअनुसार गाजाको दक्षिणी रफाह सहरमा इजरायलले केही दिनदेखि नै हमला जारी राखेको छ । उक्त आक्रमणमा परी आइतबार मात्र पनि १२ जनाको ज्यान गएको थियो ।
दीर्घकालीन युद्धविरामका लागि प्रयास भइरहेको जनाएको इजरायलले सोमबार पनि आक्रमणलाई निरन्तरता दिएपछि भने त्यस क्षेत्रमा चिन्ता थपेको छ ।

स्थायी प्रकृतिको युद्धविरामका लागि इजिप्टको कायरोमा वार्ता जारी रहेको समाचारमा जनाइएको छ । त्यस बखत इजरायलले भने हवाई कारबाहीलाई जारी नै राखेको बताइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us