
काठमाण्डु, १२ कात्तिक– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण शान्ति प्रक्रिया टुुंगोमा पुग्न ढिलाइ भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँग नयाँबानेश्वरमा बिहीबार भएको भेटमा ओलीले त्यस्तो आरोप लगाए ।
गुटेरेसले नेपालको शान्ति प्रक्रिया छिटो टुंगियोस् भन्ने चाहेको बताएपछि ओलीले प्रधानमन्त्रीमाथि आरोप लगाएका हुन् ।
भेटमा सहभागी एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संक्रमणकालीन न्यायका नाममा संक्रमणकालीन अन्याय हुन नहुनेबारे ओलीले गुटरेसको ध्यानाकर्षण गराएका थिए । ओलीले संक्रमणकालीन न्यायसम्बन्धी काम पीडितलाई केन्द्रमा राखेर टुंगनिुपर्नेमा एमाले अडिग रहेको बताएको ज्ञवालीले उल्लेख गरे ।
विद्रोही नेताको हैसियतमा प्रक्रिया टुंग्याउन पहल गर्नुपर्नेमा प्रचण्डले नै हिंसालाई अनावश्यक महिमागान गाउँदै हिंडेकाले असहजता उत्पन्न भएको उनको भनाइ थियो ।
‘युद्ध सुरु भएको दिन फागुन १ गतेलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने पीडितलाई न्याय गर्दैन’, ओलीको भनाइ उृद्धत गर्दै ज्ञवालीले भने ।
ओलीले गम्भीर अपराधमा संलग्नलाई आममाफी नहुने गरी अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा सर्वोच्च अदालतको फैसलालाई ध्यानमा राखेर शान्ति प्रक्रिया टुंग्याउन एमालेको सहयोग रहने बताए ।
भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्याबारे अध्ययन गर्नु पनि आफ्नो भ्रमणको एजेण्डा रहेको बताए ।