आज इन्द्र जात्रा, काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८० असोज ११ गते ७:३१ मा प्रकाशित

काठमाण्डु, ११ असोज– काठमाण्डु उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा पर्व मनाउने गरिन्छ । काठमाण्डुसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखाको चरिकोटलगायत स्थानमा यो पर्व मनाउने गरिएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा ८ दिनसम्म मनाइन्छ । जात्राको अवसरमा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

आजको दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीदेवताका रूपमा रहेका गणेश, भैरव र कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने गरिन्छ ।

आज काठमाण्डुको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ।

यसैबीच सरकारले इन्द्रजात्राका अवसरमा काठमाण्डु उपत्यकामा सार्वजनिक बिदा दिइको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us