
काठमाण्डू, ८ असोज- सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका बाबुछोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ ।
सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताए।
दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो।
दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो। आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जिप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै उनीहरूको मृत्यु भएको थियो।
‘उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो,’ वडाध्यक्ष वलीले भन्नुभयो, ‘रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो।’
रा १ च १०२५ नम्बरको जिप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो। सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते भएका थिए।