काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै सरकारले काठमाण्डु उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको छ ।
मोदीको सुरक्षा व्यवस्था अतिविशिष्टस्तरको हुने सरकारले जनाएको छ । मोदी भ्रमणको सुरक्षाको जिम्मा पाएको गृह मन्त्रालयले आजदेखि हुने मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको हो ।
मोदी भ्रमणलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । उनका अनुसार भ्रमणलाई ध्यानमा राखी काठमाण्डु उपत्यका भित्रने मुख्य नाका, सडक, चोक, पुललगायत स्थानमा सुरक्षा व्यवस्था गरी सुरक्षा जाँच कडा पारिएको छ ।
एकीकृत सुरक्षा योजनाअन्तर्गत भ्रमणका बेला तीन घेरामा सुरक्षा उपलब्ध गराइने छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी बल रहने छन् । त्यसमा राष्ट्रिय अनुसन्धान विभागसमेत समेटिएको छ ।
मोदी सुरक्षाका लागि भारतबाट आएको विशेष सुरक्षा टोली पनि नेपाली सुरक्षाकर्मीसँगको समन्यवमा परिचालित हुनेछन् ।
यस्तै मोदीको बासस्थान र भ्रमण गर्ने मार्गको सुरक्षा विश्लेषण गरेर योजना बनाइएको छ । प्रहरीका अनुसार कार्यक्रमस्थल र बसोबास वरपर नेपाल प्रहरीको विशेष टोली खटिएको छ ।
मोदीको सवारी हुने बाटो, पुल, होटल र भेटघाट हुने स्थल वरपर सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको गृहले जनाएको छ ।