रोनाल्डोप्रति थियरी हेनरीको कडा टिप्पणीः आफैँ गोल हान्ने चक्करमा खेल बिगारे

काठमाण्डु टुडे २०८३ असार ४ गते १३:५६ मा प्रकाशित

काठमाण्डू, ४ असार– फ्रान्सका लिजेन्ड फुटबलर थियरी हेनरीले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको कडा आलोचना गरेका छन । विश्वकप फुटबल अन्तर्गत बुधबार भएको खेलमा रोनाल्डोले आफैँ गोल गर्ने लालचमा पोर्चुगलको लय बिगारेको उनको आरोप छ ।

२०२६ विश्वकपको पहिलो खेलमा पोर्चुगलले कमजोर आँकिएको डीआर कंगोसँग १–१ को बराबरी खेलेको थियो । खेलमा रोनाल्डोले टिम भावनाभन्दा व्यक्तिगत गोलप्रतिको लालच देखाएको हेनरीको आरोप छ । फक्स स्पोट्र्समा विश्लेषण गर्दै उनले भने, ‘टिमलाई गोल चाहिन्छ, तिमीलाई होइन ।’

उनले दोस्रो हाफको एक दृश्यलाई उदाहरण समेत दिए । जोआओ क्यान्सेलोले बल नियन्त्रणमा राख्दा रोनाल्डोले ब्रुनो फर्नान्डेसका लागि स्पेस बनाउन सिक्स–यार्ड बक्सतर्फ दौडनुपर्ने थियो । तर रोनाल्डो आफैं बलतर्फ गएर फर्नान्डेसको बाटो बन्द गरे, जसले गर्दा डीआर कंगोको डिफेन्सलाई सजिलो भयो ।

हेनरीले ब्रुनो फर्नान्डेसको फ्रस्ट्रेसनलाई पनि औंल्याए । फर्नान्डेसले बल क्रस गर्न इशारा गर्दागर्दै रोनाल्डोले लेन ब्लक गरेको समेत उनले बताएका छन । हिजोको खेलमा पहिलो हाफमा जोआओ नेभेसको हेडरमार्फत पोर्चुगलले अग्रता लिएको थियो । तर योआने विस्साले बराबरी गोल फर्काए ।

४१ वर्ष १ सय ३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकप इतिहासमा सबैभन्दा उमेरका आउटफिल्ड खेलाडी बनेका थिए । तर उनले पूरै ९० मिनेटमा कुनै पनि सट अन टार्गेट गर्न सकेनन् । डीआर कंगोका लागि यो विश्वकपमा पहिलो अंक हो भने पोर्चुगलका लागि अपेक्षित सुरुवात भएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us