मोदीले संसद्लाई २० मिनेट सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७१ साउन १८ गते २:०१ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज व्यवस्थापिका–संसद् बैठकलाई सम्बोधन गर्दैछन् ।

narendra modiमोदीले दिउँसो साँढे ४ बजे संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले २० मिनेट संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

२०४६ को राजनीतिक परिवर्तनपछि नेपालको संसद्लाई सम्बोधन गर्ने मोदी पहिलो अति विशिष्ट विदेशी व्यक्तित्व हुन् । २०४६ सालअघि जर्मनीका तत्कालीन चान्सलर हेल्म्युट कोलले नेपालको संसद्मा सम्बोधन गरेका थिए । मोदीलाई संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मुख्य ढोकामा स्वागत गर्नेछन् । भित्र गएपछि समामुख नेम्वाङसँग १५ मिनेट भेटवार्ता हुनेछ । संसद्को रोष्ट्रम नजिकै मोदीको आसनको व्यवस्था गरिएको छ । बैठकमा सदा झैं राष्ट्रिय गान प्रस्तुत भएपछि नेम्वाङले मोदीलाई स्वागत गर्दै उनलाई सम्बोधनका लागि आग्रह गर्नेछन् ।
सम्बोधन हेर्न नेपालस्थित कूटनीतिक नियोगका अधिकारी, संवैधानिक निकायमा पदाधिकारी, नेपाल सरकारका सचिवहरूलाई आमन्त्रण गरिएको छ । सभासद्लाई औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । मोदीलाई नेम्वाङले इलामबाट मगाइएको अर्थोडक्स चियाले सत्कार गर्नेछन् । सम्बोधन सकिएपछि नेम्वाङले प्रधानमन्त्री सुशील कोइराला र प्रमुखप्रतिपक्षी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परिचय र शिष्टाचार भेट गराउनेछन् ।

मोदीले सम्बोधन गर्ने भएपछि भएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संविधानसभा भवन सिङ्गारिएको छ ।
संविधानसभा भवनको बाहिरी ढोकादेखि नै नेपाल र भारतका राष्ट्रिय झन्डा र ध्वजापातकाले सजाइएको छ । केन्द्रमा रहेका ठूला पोलमा पनि दुई देशका झन्डा फहराएका छन् । सम्मेलन केन्द्रमा पानीका फोहरा पनि प्रदर्शित गरिएको छ भने बगैंचा र परिसरलाई सरसफाइ गरेर चिटिक्क बनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us