सिन्धुपाल्चोक, १७ साउन– सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै माङखा गाविसको जुरेमा गएको पहिरोमा मृत्यु भएकामध्ये ९ जनाको शव फेला परेको छ ।
घटनास्थलबाट एक बालक र दुई बालिकासहित नौ जनाको शव निकालिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बदासे–१ का ४० वर्षीय अभिषेक श्रेष्ठ, माङखा–१ का १८ वर्षीया आष्मादेवी श्रेष्ठ, सोही ठाउँका १७ वर्षीया रामदेवी श्रेष्ठ र ४० वर्षीया गणेशमाया श्रेष्ठ, माङखा–१ की ३० वर्षीया विमला श्रेष्ठ, ३५ वर्षीय श्याम श्रेष्ठ रहेको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । मृतक अन्यको सनाखत हुन बाँकी छ । मृतकहरुको शव सदरमुकाम चौतारा लगिएको छ ।
दर्जनौंको संख्यामा मानिसहरु हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । पुरिएकाको यकिन नभए पनि ठूलै संख्यामा मानिसहरु पुरिएको आशंका गरिएको छ ।
पहिरोमा पुरिएका ४० जनाको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । घाइतेमध्ये १६ जनाको राजधानीको त्रिवि शिक्षण अस्पताल र अन्यको स्थानीइ स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । शुक्रबार राति करिब तीन बजेतिर गएको पहिरोले स्थानीयका ५० भन्दा बढी घर बगाएको छ । पहिरोले धुस्कुन, मांखा, टेकनपुर र राम्चे गाविसका बस्ती बगाएको छ ।
अरनिको राजमार्गमाथिबाट आएको पहिरोले थुनिएर जलासयमा परिणत भएको सुनकोसी नदी ११ घण्टापछि शनिबार दिउँसो करिब एक बजेबाट बग्न थालेको थियो । नेपाली सेनाले पहिरोले थुपारेको पहाडमा बम विस्फोट गराएर नदीको प्राकृतिक बहाव सुचारु गराउने प्रयास गरिरहेका बेला पहिरो नाघेर पानी आफैं बगेको हो ।
नियमित बहावभन्दा कम बगेकाले क्षतिको खतरा टरेको भने छैन । पानीको प्राकृतिक बहाव हुन नसक्दा थुनिएको पानी एकैपटक बगेर बाढी आउन सक्ने सम्भावना अझै छ ।
बाढीको जोखिममा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे, लामोसाँघु, सुकुटे, चेहेरे, तथा काभ्रका भुंगलुटार, दोलालघाट, सरमथली, सर्सिउँखर्कलगायत गाविसका नदी किनाराका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
उनीहरुका लागि अस्थायी बसोबास, औषधि, लत्ताकपडा र औषधिको व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । रात परेपछि उद्धार कार्य रोकिएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली आइतबार बिहानैबाट उद्धारकार्य सुचारु हुने बताए ।
केन्द्रीय दैवीप्रकोप उद्धार समितिले सिन्धुपाल्चोकदेखि भारतीय सिमासम्म नदी किनाराका दुई सय मिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घटनापछि अरनिको राजमार्गअन्तर्गत दोलालघाटबाट बाह्रबिसेसम्म सवारी साधन चलेका छैनन् ।
्