काठमाण्डुबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ को मृत्यु

काठमाण्डु टुडे २०८० भदौ ६ गते १२:३७ मा प्रकाशित

काठमाण्डु, ६ भदौ– बुधबार बिहान काठमाण्डुबाट पोखराका लागि छुटेको यात्रु बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरीबाट त्रिशूली नदीमा खस्दा ८ जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६ महिला र २ पुरुष छन् । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजेतिर गजुरी गाउँपालिका–२, चालिसे छहराबाट त्रिशुलीमा खसेको धादिङ प्रहरीले जनाएको छ । बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए ।

मिश्रका अनुसार घटनास्थलबाट उद्धार गरिएका ८ जनालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ । मिश्रले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार जारी राखेका छन् ।

उनले दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताए । प्रहरीले बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी प्राप्त हुन नसकेकाले मृतक संख्या बढ्न सक्ने अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us