
काठमाण्डू, १९ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँग कनेक्सन भेटिएपछि अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री रहेका छन । पक्राउ परेका भण्डारी र खत्रीलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । भण्डारीसँग कनेक्सन भेटिएपछि पक्राउ परेका खत्री भने अनलाइन फिसिङमार्फत हुने ठगीमा संलग्न रहेको सीआईबीका एक अधिकृतले जानकारी दिएका छन ।
सहकारीको रकम अपचलन गरेर फरार रहेका भण्डारी सहकारीका पदाधिकारीलाई पुनः ठगेका थिए । सहकारीको रकम तिर्ने भन्दै प्रलोभन देखाएर विदेशबाट भण्डारीले ठगी गरेको खुलेको छ । सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।
त्यही ठगीमा खत्री पनि जोडिएको पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए । बर्दियाको बाँसगढी गाउँपालिका–७ का ४२ वर्षीय भण्डारीले आफूले हिनामिना गरेको सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए ।
यही साढे तीन करोड ठगीमा खत्री जोडिएको सीआईबी स्रोतले जानकारी दिएको छ । यसरी ठगी गर्ने भण्डारी र खत्री दुवै सहकारीसँग प्रत्यक्ष रूपमा कुनै साइनो नभएका व्यक्ति हुन । सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी) मार्फत भण्डारीले मिटर ब्याजमा रकम लिएको स्रोतले जानकारी दिएको छ ।
उनीहरूबीच घनिष्ट सम्बन्ध बनेपछि ज्योतिले सहकारीको रकम अपचलन गरेर भण्डारीलाई दिने र उक्त रकम भण्डारीमार्फत क्रिप्टोमा लगानी गरी विदेश पुग्ने गरेको बताइएको छ । रकम अपचलन गरेपछि दुवै जना फरार भएर विदेश पुगेको र ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएको पाइएको एक अधिकृतले जानकारी दिएका छन ।
आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको सीआईबीका एक अनुसन्धान अधिकृतले जानकारी दिए । ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेको गरेका थिए । त्यसका लागि खत्रीको प्रयोग गरेको खुलेको छ ।
ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ–ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वास सहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए । मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।
त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटक–पटक उल्टै रकम हाल्न लगाएर करिब ठगी गरेको पाइएको थियो ।
यसका लागि भण्डारीलाई नेपालबाट सहयोग गर्ने व्यक्ति खत्री रहेको पाइएको छ । यसरी ठगी गरेको उक्त रकम फेरि हुन्डीमार्फत विदेश पुगेको सीआईबीको अनुसन्धानले देखाएको छ । अहिले खत्रीमाथि ठगीमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । भने हुन्डीमा पनि सीआईबीले आन्तरिक अनुसन्धान गरेको छ ।