
काठमाण्डू, २४ असार– भोटेकोशी नदीमा सोमबार राति आएको बिनासकारी बाढीपछि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनमा भेटिएको छ ।
श्रेष्ठको शव भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । प्रहरी चौकी हाकुमा दरबन्दी रहेका श्रेष्ठ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
४२ वर्षीय श्रेष्ठ रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ स्थायी बासिन्दा हुन् ।
त्रिशूली किनारमा शव भेटिएको सूचनापछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरी सहितको टोली उक्त स्थानमा पुगेको थियो ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको पुरीले बताए ।
रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका थिए । जसमध्ये तीन प्रहरी थिए ।