
काठमाण्डू, २४ असार– नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना पेश गर्न निर्देशन दिएको छ ।
मंगलबार सम्पन्न सचिवालय बैठकले उनको पछिल्लो सार्वजनिक अभिव्यक्तिले पार्टी अनुशासन र संगठनको छविमा नकारात्मक असर पारेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले बताए । ‘रामकुमारीजीको अभिव्यक्तिले पार्टीमा नकारात्मक असर गरेकाले आगामी दिनमा त्यस्ता गतिविधि नगर्न सचेत गराएको छ,’ उनले भने, ‘सात दिनभित्र लिखित आत्मालोचना गर्न निर्देशन दिएको छ ।’
यसअघि झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधिसकेको थियो । गत असार १५ मा बुटवलमा आयोजित एक कार्यक्रमसँग झाँक्रीले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएको सन्दर्भमा कडा आलोचनात्मक टिप्पणी गरेकी थिइन् । नेपाललाई लक्षित गर्दै उनले भनेकी थिइन, ‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । अर्ली महाधिवेशन गरौं । नेतृत्व हलबाट छानौं ।’
झाँक्रीको भनाइले नेतृत्वको नैतिकता, वैधता र पार्टी निर्माणको प्रक्रियामाथि समेत प्रश्न उठाएको भन्दै उनीमाथि कारबाही गर्नुपर्ने आवाज एकीकृत समाजवादीमा बलियो बन्दै गएको छ । महासचिव घनश्याम भुसालले झाँक्रीको अभिव्यक्तिपछि विज्ञप्ति जारी गर्दै नेताहरूलाई नेतृत्वबारे सार्वजनिक टिप्पणी नगर्न निर्देशन दिएका थिए ।
अध्यक्ष नेपालमाथि प्रधानमन्त्री भएका बेला काभ्रेमा पतञ्जली योग पीठका लागि पहिला हदबन्दीभन्दा बढी जमिन किन्न र पछि बेच्न मन्त्रिपरिषदले अनुमति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।