
काठमाण्डु, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
उपसभामुख श्रृजना दनुवार प्रदेशसभा बैठक छलेर उपचारका लागि भन्दै काठमाण्डु हिंडेपछि उत्पन्न अन्यौलताबारे सत्ता गठबन्धनमा रहेका दलबीच छलफल भएको छ ।
विराटनगरमा भएको छलफलले आजै थापाले विश्वासको मत लिने निर्णय गरेको छ । अपारह्न १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक अझै सुरु भएको छैन ।
एमाले र राप्रपाका एक ज्येष्ठ सदस्यले आइतबारै बैठकमा उपस्थित नहुने सूचना दिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ सदस्य छन् ।
उपसभामुख बैठक सञ्चालन नगरी हिंडेको र त्यसपछि बैठक सञ्चालन गर्नुपर्ने विपक्षीका ज्येष्ठ सदस्य अनुपस्थित हुने भएपछि सत्ता पक्षका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्नेछ ।
बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य मतदानमा सहभागी हुन नपाउने भएका कारण सत्ता पक्षलाई यथास्थितिमा बहुमत जुटाउन कठिन छ ।