
काठमाण्डु, ४ भदौ– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई बयान दिएका छन् ।
भट्टराईले सीआईबी अधिकारीलाई आइतबार साँझ टोखास्थित घरमै बोलाएर आइतबार बयान दिएका हुन् । भट्टराईले आफू प्रधानमन्त्री भएका बेला त्यसबारे भएका निर्णय र बुझेका विषयमा जानकारी गराएको बताए । ‘मेरो समयमा भएको निर्णय र जानेबुझेको विषयमा बयान दिएको छु’, उनले भने । भट्टराईले आफ्नो जानकारीमा आएका सबै विषयको विवरण सीआईबीमा बुझाएको सो पार्टीका प्रवक्ता विश्वदीप पाण्डेले बताए ।
ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गरिएको विषयमा सीआईबीले छानबिन गरिरहेको छ । सर्वोच्च अदालतले भट्टराई र अर्का पूर्वप्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित निर्णय प्रक्रियामा सहभागी सबैलाई छानबिनको दायरामा ल्याउन आदेश गरेको थियो ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले भट्टराई र नेपालसँग बयान नलिन प्रहरी नेतृत्वलाई दबाब दिएको भन्ने समाचार आएका बेला भट्टराईले भने प्रहरीलाई घरमै बोलाएर बयान दिएका हुन् । भट्टराईले बयान दिएपछि नेपालमाथि पनि नैतिक दबाब बढेको छ ।