
काठमाण्डु, ४ भदौ– समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ ।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । यसअघि उनी आइतबार संसदको गतिरोध हटाउने प्रयासमा प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित थिए ।
सरकारले मधेस आन्दोलनका क्रममा २७ जना निशस्त्र माओवादी कार्यकर्ताको नृशंस हत्या भएको रौतहटको गौर काण्डका दोषीमाथि कारबाही गर्ने सहमति पीडित परिवारसँग गरेपछि यादव चिढिएका छन् ।
उनी पछिल्लो समय गठबन्धनका बैठकमा अनुपस्थित हुँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठकका कारण हिजो स्थगित भएको समाजवादी मोर्चाको बैठक आज बसेको हो । मोर्चाको अध्यक्षता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गर्दै आएका छन् ।
बैठकमा सरकारका काम, भ्रष्टाचार प्रकरणमा भइरेका छानबिन, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने मोर्चा आवद्ध दलका नेताहरुले बताएका छन् ।
सरकारमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गत ४ असारमा मोर्चा घोषणा गरेका थिए ।