कोशी प्रदेश सरकार ढल्दै, फेरि एमालेका कार्की मुख्यमन्त्री बन्ने

काठमाण्डु टुडे २०८० भदौ ४ गते ७:५५ मा प्रकाशित

विराटनगर, ४ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् ।

त्यसका लागि अपराह्न १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । थापा २१ असारमा दोश्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

तर, बैठकमा एमाले पृष्ठभूमिकी उपसभामुख श्रृजना दनुवार अनुपस्थित हुने छिन् । ततकालीन सभामुख माओवादी केन्द्रका बाबुराम गौतमले पदबाट राजीनामा दिएर थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि बैठक सञ्चालनको जिम्मेवारी उपसभामुखको काँधमा आएको हो ।

जसरी पनि कोशी प्रदेश सरकार ढाल्ने योजनामा रहेको एमालेले उपसभामुख दनुवारलाई बैठक सञ्चालन गरेर थापालाई विश्वासको मत लिन दिने सम्भावना छैन । दनुवारलाई राजीनामा गराउने वा अनुपस्थित भन्नेबारे एमालेले बैठकअघि निर्णय गर्नेछ ।

‘जे भए पनि उहाँले बैठकको अध्यक्षता गरेर थापालाई मुख्यमन्त्रीमा विश्वासको मत दिने वातावरण बनाउनु हुन्न’, एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले भने । उपसभामुखपछि बैठक सञ्चालनको जिम्मेजारी ज्येष्ठ सदस्यको हुन्छ ।

एमाले र राप्रपाका ७ ज्येष्ठ सदस्यले बैठकमा उपस्थित हुन नसक्ने भन्दै आइतबारै प्रदेशसभा सचिवालयमा बिदा मागेर निवेदन दिइसकेका छन् ।

सत्तापक्षले काँग्रेस प्रदेशसभा दलका नेता थापालाई मुख्यमन्त्री बनाउन सभामुखको हस्ताक्षर गराउने, सभामुखलाई राजीनामा गराउने र ज्येष्ठ सदस्यलाई काँग्रेसका गयानन्द मण्डललाई कृषिराज्यमन्त्रीमा नियुक्त गर्ने काम गरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा सत्तापक्षमा ४७ र विपक्षी गठबन्धन दुवै मा ४६ सदस्य छन् ।

तर, उपसभामुखले राजीनामा दिने र सात जना ज्येष्ठ सदस्य अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना करिब शून्य छ । विश्वासको मत पाउन नसके थापा स्वतः पदमुक्त हुनेछन् ।

मुख्यमन्त्रीले विश्वासको मत नपाए संविधानअनुसार ठूलो दलको हैसियतमा एमालेका हिक्मत कार्की पुनः मुख्यमन्त्री बन्नका लागि बाटो खुल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us