
काठमाण्डु, ४ भदौ– प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यको प्रयासमा आज पनि सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पनि राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बोलाएका हुन् ।
यसअघि आइतबार पनि उनले सर्वदलीय बैठक बोलाएका थिए । तर, लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली स्वास्थ्यका कारण अनुपस्थित रहेपछि बैठक बिनानिस्कर्ष सकिएको थियो ।
एमालेले ६० केजी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर गत १० साउनयता संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड एमालेको मागमा लचिलो देखिएका थिए । उनी बैठकमा समस्या समाधानका लागि विकल्पसहित प्रस्तुत भएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय समिति गठन गर्ने वा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई नै छानबिनको जिम्म दिने प्रस्ताव प्रचण्डको थियो ।
उक्त प्रस्तावमा एमाले सकारात्मक देखिएको छ । बैठकपछि एमालेइतर दलका नेताले प्रतिनिधिसभाको अवरोध हट्ने संकेत देखिएको प्रतिक्रिया दिएका थिए ।