
काठमाण्डू, २४ असार– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेकाहरुको उद्धारमा गएको नेपाली सेनाको हेलिकोप्टर चीनले जबर्जस्ती आफ्नो भूमिमा ल्याण्ड गराएको छ ।
अनुमतिबिना आफ्नो भूमिमा प्रवेश गरेको भन्दै उद्धारमा गएको सैनिक हेलिकोप्टर चीनले ‘फोर्स ल्याण्डिङ’ गराएको हो । बाढीका कारण सीमावर्ती चिनियाँ क्षेत्रमा करिब १ सय ५० नेपाली फसेका छन् ।
बाढीका कारण सीमापारि अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि मंगलबार साँझतिर सैनिक हेलिकोप्टर त्यसतर्फ गएको थियो । चीनले बिना पूर्वस्वीकृति आफ्नो सीमा क्षेत्रमा हेलिकोप्टर प्रवेश गरेको भन्दै हेलिकोप्टर अवतरण गराइएको जनाएको छ ।
नेपाली सेनाले भने प्राविधिक कारणले हेलिकोप्टर चीनतर्फ आकस्मिक रूपमा अवतरण गर्नुपरेको प्रष्टीकरण दिएको छ । चिनिया हस्तक्षेपका कारण उद्धारको पर्खाइमा रहेका नेपाली अलपत्र परेका छन् ।
घटनाबारे मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
उच्चस्तरीय कूटनीतिक समन्वयमार्फत हेलिकोप्टर र उद्धार कार्यका लागि अनुमति दिलाउन पहल भइरहेको बुझिएको छ ।
सीमावर्ती क्षेत्रमा आपत्कालीन सहयोगका लागि दुवै देशबीच स्पष्ट कार्यप्रणाली नहुँदा मानवीय संकटमा परेका नागरिकहरूको उद्धार जटिल बन्ने देखिएको छ ।
मानवीय उद्धारजस्तो संवेदनशील विषयमा कठोर सुरक्षा रणनीति अपनाइएकामा नेपाली अधिकारीहरुले चिनियाँ पक्षसँग वार्ताको तयारी गरेका छन् ।