
काठमाण्डू, २४ असार– प्रधानमन्त्री केपी ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमा गएका ओलीले मंगलबार रसुवा र नुवाकोटका बाढीग्रस्त क्षेत्रको अवलोकन गरी साँझ राजधानी फर्किएका छन् ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, प्रभावित स्थानीय र स्थानीय प्रशानसका अधिकारीहरुसँग बाढीबाट भएको क्षति, उद्धार र राहतका विषयमा छलफल गरेका थिए ।
ओलीको बाढीले बगाएको नेपाल–चीन मैत्री पुल, रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह लगायतमा भएको क्षतिप्रति चासो राखे । उनले सरकारका तर्फबाट उद्धार, राहत र पुनःनिर्माणमा कुनै ढिलाई नहुने प्रतिबद्धता जनाए ।
भोटेकोशीमा सोमबार राति आएको बाढीमा तीन प्रहरीसहित २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६ चिनियाँ नागरिक पनि छन् ।
बाढीले ड्यामसाइट बगाएका कारण १११ मेघावाटको रसुवागढी जलविद्युत् केन्द्रको विद्युत उत्पादन बन्द भएको छ ।
२० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको पावर हाउसमा बाढी पसेर क्षति पुगेको छ ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए ।