काठमाण्डु , १४ साउन – संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बुधबारको बैठकले तत्कालीन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले गरेका निर्णयहरुमाथि छलफल गरी सहमतिको प्रतिवेदन तयार गर्न आठ सदस्यीय उपसमिति गठन गरेको छ ।
सो उपसमितिलाई यही साउन २० गतेभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ ।
उपसमितिमा अर्जुननरसिंह केसी, केशवप्रसाद वडाल, डिम्पलकुमारी झा, दिलनाथ गिरी, प्रेमबहादुर सिंह, लक्ष्मण राजवंशी, लक्ष्मणलाल कर्ण र शिवकुमार मण्डल केवट रहेका छन् ।
समितिका शाखा अधिकृत लक्ष्मण अर्यालले दिएको जानकारीअनुसार बैठकमा प्रारम्भिक वार्ता उपसमितिले यही साउन ११ र १२ गते संविधानसभा बाहिर रहेका राजनीतिक दल, सरोकारवाला र सशस्त्र समूहसँग भएका वार्ताबारे जानकारी गराइएको थियो ।
सो उपसमितिले संविधानसभा बाहिरका विभिन्न आठ राजनीतिक दलसँग वार्ता गरेको थियो ।
बैठकले अन्य राजनीतिक दल र सरोकार समूहलाई पनि वार्तामा सहभागी भई शान्तिपूर्ण रुपमा समस्या समाधान खोजी संविधान निर्माण प्रक्रियामा सहभागी हुन समेत आह्वान गरेको छ ।