रास्वपाले अघि सारेको शासकीय स्वरूपबारे दलहरूसँग प्रारम्भिक छलफल भएको छः गौतम

काठमाण्डु टुडे २०८३ असार ११ गते १३:४२ मा प्रकाशित

काठमाण्डू, ११ असार– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसंग पनि छलफल भएको बताएकी छन ।

आज (बिहिबार) रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपका बिषयमा रास्वपाको प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफलको आवश्यकता रहेको भन्दै प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको पनि उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘संविधान संशोधनसँग पनि जोडिएको विषय भएकाले संविधान संशोधनको व्यापक छलफल भइरहेको विषय हो, हामी दलहरूसँग पनि प्रारम्भिक रुपमा छलफल भएको विषय हो ।’ रास्वपाले प्रदेश सभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय स्वरूपसहित प्रस्ताव अघि सारेको थियो ।

गौतमले आफुहरुको प्रस्तावमाथि छलफल भएर कहाँसम्म गएर सहमति हुन्छ भन्ने कुरामा निर्भर हुने उल्लेख गरिन् । त्यस्तै गौतमले तीन दिनका लागि निर्धारित पार्टीको महाधिवेशन लम्विएका कारण पदाधिकारीको निर्वाचनपछि बिहीबार नै सम्पन्न गर्ने तयारी रहेको जानकारी गराइन् ।

रास्वपाको पहिलो महाधिवेशन भएको कारणले सबै कुरालाई सिकाइको रूपमा मात्रै लिएर अगाडि बढ्न खोजेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us