‘उत्कृष्ट परीक्षा केन्द्र’ को पुरस्कार रकम एकाएक कटौती

काठमाण्डु टुडे २०७१ साउन १४ गते ४:१५ मा प्रकाशित

प्रकाश सिलवाल

काठमाण्डु, १४ साउन – एसएलसी परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ वटा परीक्षा केन्द्रले सरकारले दिने पूर्व घोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ । तर यो पुरस्कार रकम आफैमा ठूलो रकम होइन । ७५ जिल्लाका लागि रु. १८ लाख ७५ हजार रकम मात्र हो ।
सरकारले दिँदै आएको रु. २५ हजार राशीको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ठ ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन् । यसअन्तर्गत रु. १५ हजार विद्यालय र रु. १० हजार केन्द्राध्यक्षलाई दिइन्छ ।
शिक्षा मन्त्रालय, शिक्षा विभाग मार्फत् परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रुपमा दिँदै आएको थियो । विसं. २०७० को एसएलसी परीक्षामा व्यवस्थापन र मर्यादाका दृष्टिले हरेक जिल्ला परीक्षा समितिले हरेक वर्ष एक केन्द्र (विद्यालय) लाई उत्कृष्ट घोषित गरी पुरस्कार रकमका लागि सिफारिस गर्दै आएको छ ।
गत वर्षको परीक्षामा काठमाडौं जिल्लाभरीमा उत्कृष्ठ परीक्षा केन्द्र घोषित भएको थानकोटस्थित मङ्गोदय उमाविका प्राचार्य लीलानाथ शर्माले एकाएक सो रकम नपाउने जानकारी आएको गुनासो गरे ।
नियन्त्रण कार्यालयले विगत तीन वर्षदेखि यस्तो पुरस्कार रकमको व्यवस्था गर्दै आएको छ । परीक्षामा चिट् चोराउने, गुण्डागर्दी हुनेजस्ता विकृतिलाई रोक्न प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिएको हो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेलेले शिक्षा विभागले सरकारबाट पाउने मध्ये वार्षिक ४ अरब रकम पाउने कटौती भएकाले उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्न नसकिएको बताए ।
प्राचार्य शर्माले ‘उत्कृष्ट विद्यालयका लागि सरकारले घोषणा गरेको पुरस्कार रकम अहिले एकाएक नपाउनु दुःखद् कुरा हो, यसले हाम्रो मनोबल गिराउँछ भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us