काठमाण्डु, १३ साउन– एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीले उच्चमाविहरुले छात्रवृत्ति पाएका विद्यार्थीबाट शुल्क लिने गरेको भन्दै
आपत्ति जनाएको छ ।
संगठनको केन्द्रीय कार्यालय बागबजारमा सोमबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष हिमाल शर्माले छात्रवृत्ति पाएका विद्यार्थीबाट असुलेको शुल्क दुई दिनभित्र फिर्ता गर्न अल्टिमेटम दिए ।
शर्माले शुल्क फिर्ता नलिए साउन १८ गते ती उच्चमाविमा तालाबन्दी गर्ने चेतावनी दिए । उनले १७ साउनमा शुल्क फिर्ताका लागि सम्वद्ध पक्षसँग अन्तरक्रिया गर्ने र १८ गतेबाट ताला लगाउने बताए ।
‘छात्रवृत्ति पाएका विद्यार्थीहरुबाट असुलिएको रकम दुई दिनभित्र फिर्ता गर्न हाम्रो आग्रह छ’, शर्माले भने, ‘अन्यथा हामी साउन १८ गतेबाट त्यस्ता उच्चमाविमा ताला लगाउन बाध्य हुनेछौं ।’
उनले छात्रवृत्ति पाएका विद्यार्थीबाट ल्याब, लाइब्रेरी र भवन निर्माणका नाममा उच्चमाविहरुले अनाधिकृत रुपमा रकम असुल्ने गरेको बताए ।
क्रान्तिकारीले नियमविपरति छात्रवृत्ति पाएका विद्यार्थीसँग शुल्क लिने क्याम्पसलाई कारबाही गर्न उच्चमावि शिक्षा परिषदसँग माग गरेको छ । प्रत्येक क्याम्पसले भर्ना भएकामध्ये कुल ५ प्रतिशत विद्यार्थीलाईं अनिवार्य छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।