
बागलुङ, १० असार– अर्कैको नाममा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सहभागी सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी जवान रुपन्देही घर भएका गणेश कोहिरी छन् । उनी सशस्त्र प्रहरीकै सहायक हवल्दार पदमा कार्यरत पर्वत कुश्माका विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी भएका थिए ।
यातयात व्यवस्था कार्यालय बागलुङले लिइरहेको प्रयोगात्मक ट्रायलमा नक्कली परीक्षार्थी बनेर सहभागी भएका उनलाई ट्रायल सेन्टरबाटै पक्राउ गरिएको बागलुङ प्रहरी प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिए ।
उनका अनुसार रुपन्देहीमा कार्यरत कोहिरी नेपालीको नाममा ट्रायल दिन बागलुङ आएका थिए । नेपाली सशस्त्र प्रहरी बलको कास्कीस्थित बाहिनीमा कार्यरत रहेको खुलेको छ । प्रहरीले अनुसन्धानका लागि नेपालीलाई पनि बोलाएको छ ।