युग अनुकूलको संस्कृति निर्माण आजको मुख्य दायित्व : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० असार ९ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, ९ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताएका छन् ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ज्ञान तथा साहित्य कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसके मात्रै अपेक्षित सफलता हासिल गर्नसक्ने बताए ।

उनले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण हुन नसकिरहेको अवस्थामा युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको बताए । आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ ।

सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रुपान्तरण अभियान अघि आउन जरुरी छ’ उनले भने, ‘परिणामतः नेपाली समाजका सुक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामी जस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।’

उनले भने प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको मर्म र भावना अनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवर्द्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us