समाजवादी मोर्चा उपलब्धि उल्ट्याउन खोज्नेकाविरुद्ध युद्धको घोषणा हो : प्रचण्ड

काठमाण्डु टुडे २०८० असार ४ गते १८:४० मा प्रकाशित

काठमाण्डु, ४ असार- प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने बताएका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको उनले बताए ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वान गरे ।

तर अहिले परिर्वतनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको भन्दै उनले भने, ‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो ।

यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’ जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्न खोज्ने काम स्वीकार्य नभएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us