युवालाई सैनिक तालिम दिने विषय बजेटमा आएन: सांसद सुवाल

काठमाण्डु टुडे २०८० जेठ ३२ गते १४:३२ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले युवालाई स्वस्थ र तन्दुरुस्त राख्न सैनिक तालिम दिनुपर्नेमा जोड दिएका छन ।

उनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा यससम्बन्धी बजेट व्यवस्था नभएकोले बजेट व्यवस्था गर्न समेत माग गरेका छन ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा खर्च कटौती प्रस्ताव गर्दै सांसद सुवालले भने–‘ स्वास्थ्य र अनुसन्धानका लागि १८ वर्ष नाघेका युवालाई सैनिक तालिमका लागि बजेट आएको छैन ।

जबसम्म नेपाली युवाले स्वास्थ्य र अनुशासन सिक्दैन, सैनिक तालिम प्राप्त गर्दैन, संसारका जुनसुकै देशमा पुगे पनि दुःख पाउनेछन् । राजनीति इमानदारितापूर्वक देश र जनताको सेवा गर्ने हो भनेर युवालाई राम्रोसँग बिचार बुद्धि दिने बन्दोबस्तका लागि बजेट दिनुपर्नेमा यसमा आएको छैन । यहाँ त राजनीति भनेको लुटपाट गरेर खाने ।

किन ? अब मन्त्री हुनेले पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेट लाने, त्यो त राजनीति हैन नि । सन्तुलित देश विकास गर्नका लागि त्यस्तो गर्न पाइँदैन, त्यस्तो गर्नेका लागि त जेल लैजानुपर्ने हुन्छ ।

त्यसकारण नयाँ पुस्तालाई राजनीतिबारे अघि बढाउनका लागि बजेटको व्यवस्था गर्नुपर्छ ।’ उनले भक्तपुरमा रहेको महेश्वरी खेल मैदानलाई खेलकुद कम्प्लेक्स बजेटमा नभएको बताउँदै भक्तपुरका जनताको खानेपानीको स्रोत सुक्ने गरी बागेश्वरीको मझुवामा बाहालबन नामको जङ्गल मासेर खेल मैदान बनाउनेहरूलाई कारबाही गर्ने कुरा पनि बजेट वक्तव्यमा नभएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us