
काठमाण्डू, २३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर हुनुमा प्रधानमन्त्री केपी ओलीमा प्रतिशोधको गन्ध रहेको प्रतिक्रिया दिएका छन ।
आज (शुक्रबार) नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘प्रधानमन्त्रीजीमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ ।
र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ ।’ उनले पहिला अख्तियारले नै कुनै पनि नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारबाहिर भएको भन्दै ललिता निवास प्रकरणमा लेखेको चिठी आफैले हेरेको पनि उनले बताएका छन ।
‘तर अहिले त्यही अख्तियारले माधवजीले गरेको त नीतिगत निर्णय नै हो । त्यसैमा फेरि प्रवेश गरेको छ सायद अख्तियारले जवाफ देला, यहीँ हो भने कोही पनि छानबिनको दायरमा आउन सक्ने भयो ।’