
काठमाण्डु, ३२ जेठ– नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरमा भ्रष्टाचारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संरक्षण गरेको बताएका छन ।
आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आलेले यस्तो आरोप लगाएका हुन । उनले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई विभागीय मन्त्रीले संरक्षण गरेको आरोप लगाएका छन ।
उनले भने, ‘मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको छ सभामुख महोदय, कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा छन् । गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ ।
गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको छ ।’
यस्तै सांसद आलेले नेपाल बायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्रीले संचार माध्यममा झुट बोलेको बताएका छन ।