प्रस्तावित प्रधानन्यायाधीश भन्छन्ः न्यायाधीश बन्ने चाहनै थिएन

काठमाण्डु टुडे २०८० जेठ ३२ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू चाहना नहुँदा नहुँदै न्यायाधीश बन्नुपरेको बताएका छन् ।

संसदीय सुनुवाई विशेष समितिमा बिहीबार उपस्थित भएका कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा यस्तो बताएका छन् । आफूलाई इच्छा नभए पनि तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा सर्वोच्चको न्यायाधीश नियुक्त भएको उनको भनाइ थियो ।

‘सर्वोच्च अदालतको न्यायाधीश बन्ने अवसर अयो । त्यतिबेला मेरो आफ्नो इच्छा थिएन’, उनले भने, ‘तत्कालीन प्रधानन्यायाधीश ज्यूले आउनुस् बाहिर बसेर मात्र हुँदैन भन्नुभयो । त्यसलाई मैले सहर्ष स्वीकार गरें ।’

हाल सौभाग्य र परिस्थितिले आफू आठ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेको उल्लेख गरे । कार्कीले आफू २०४० सालमा कानून व्यवसायमा प्रवेश गरेको र त्यसयता हालसम्म पूर्ण रुपमा इमान, निष्ठा र व्यवसायिक धर्मका साथ अघि बढेको दाबी उनले गरे ।

कार्कीलाई गत २५ वैशाखमा संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो । त्यतिबेला संसदीय सुनुवाई समिति गठन नभइसकेका कारण सुनुवाइमा ढिलाई भएको हो ।

समितिले बुधबारसम्म कार्कीविरुद्ध परेका २९ उजुरीमाथि उजुरीकर्तालाई बोलाएर छलफल गरेको थियो । समितिले अनुमोदन गरेपछि कार्की अबको केही दिनमै राष्ट्रपतिबाट छोटो समयका लागि प्रधानन्यायाधीश नियुक्त हुनेछन् । कार्कीको कार्यकाल आगामी १९ साउनसम्मको हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us