
काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन ।
आज (बुधबार) नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।
उनले नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन अध्ययनको लागि विश्वभरका विद्यार्थीहरुको उचित गन्तव्य बन्न सक्ने र नेपालको शैक्षिक तथा आर्थिक उन्नयनमा टेवा पुग्ने पनि बताएका छन ।
उनले नेपाल संस्कृत विश्वविद्यालय नेपालको एक ऐतिहासिक प्राज्ञिक थलो रहेकाले यसको विकास र शैक्षिक उन्नयनका लागि सरकारदेखि अभिभावकसम्म सबै उत्तरदायी बन्नु पर्ने बताएका छन ।
उनले सरकारले विश्वविद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि सदैव प्रभावकारी काम गर्दै आइरहेको बताएका छन । उनले भने, ‘संस्कृत विश्वविद्यालयका चर्चा मित्र राष्ट्र भारतसम्ममा उत्तिकै छ ।
यसले नेपाल–भारतको शैक्षिक सम्वन्ध, समन्वय समेत गर्दै आइरहेको छ ।’ उनले संस्कृत विश्वविद्यालयमा भारतबाट समेत उच्च शिक्षा अध्ययनका लागि आउने गरेकाले यसको गरिमा र महत्त्व भारतले समेत रहेको बताएका छन ।
उक्त विश्वविद्यालयको संरक्षकसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विद्यार्थी दीक्षित कार्यक्रम नियमित हुनुपर्नेमा केही वर्ष यता रोकिएकाले निरन्तरता दिन आग्रह गरेका छन ।
कार्यक्रममा शिक्षा मन्त्री अशोक राईले नेपाल संस्कृत विश्वविद्यालयका हरेक शैक्षिक कार्यक्रमलाई परिकृत, व्यवस्थित बनाउँदै लैजाने बताएका छन ।