नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’: स्वर्णिम वाग्ले

काठमाण्डु टुडे २०८२ असार २६ गते १५:११ मा प्रकाशित

काठमाण्डू, २६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा.स्वर्णिम वाग्लेले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्नुपर्ने तर्क गरेका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै रास्वपा सांसद डा.वाग्लेले यस्तो बताएका हुन् ।

उनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काल रोकेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनःसंरचनामा ध्यान केन्द्रित गर्नुपर्ने पनि बताए । उनले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारीलाई ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ को संज्ञा दिए । वाग्लेले भने, ‘अर्थशास्त्र बुझेका, अनुभवी पूर्व अर्थमन्त्री युवराज खतिवडाले दोस्रो स्टक एक्सचेन्जको खेल ‘प्योर, नेकेड करप्सन’ (शुद्ध, नाङ्गो भ्रष्टाचार) हो भन्नुभएको थियो ।

म अर्थशास्त्री भएर यो सुन्दा मलाई पीडा भयो, तर उहाँको विश्लेषणमा मेरो समर्थन छ ।’ आफ्नो सैद्धान्तिक मान्यता प्रतिस्पर्धा र उपभोक्ताको हितमा भएपनि अहिलेको प्रक्रिया गलत नियतबाट प्रेरित भएको उनले बताए । उनले उनले भने, ‘म सामान्यतया प्रतिस्पर्धा होस्, लागत घटोस्, कम मूल्यमा उपभोक्ताले वस्तु तथा सेवा उपभोग गर्न पाउन् भन्ने मान्यता राख्छु,‘ उनले भने, ‘तर यहाँ जुन नियत र प्रक्रियाबाट यो विषय अघि बढेको छ, त्यसले गम्भीर शङ्का जन्माएको छ ।’

डा. वाग्लेले यो सम्पूर्ण प्रक्रियालाई ‘पोलिसी क्याप्चर’ (नीतिगत कब्जा) को उत्कृष्ट नमुनाको रूपमा व्याख्या गरे । उनका अनुसार स्वार्थ समूहले आफ्नो हित अनुकूल हुने गरी नीति निर्माण प्रक्रियालाई नै कब्जामा लिएको छ । ‘यो निहित स्वार्थ, साँठगाँठ र नीतिगत कब्जाको डरलाग्दो खेल हो ।

नेपालको खर्चिलो, भड्किलो र अस्वस्थ राजनीतिक प्रणालीलाई धान्नका लागि राजनीतिक दलहरूलाई स्रोत चाहिन्छ र त्यही स्रोत जुटाउन यस्ता खेलहरू हुने गरेका छन्,’ उनले भने । नयाँ लाइसेन्सको ढोका खोल्नुभन्दा पहिला वर्षौँदेखि चर्चामा रहेको नेप्सेको पुनर्संरचना, पुँजी वृद्धि र निजी क्षेत्रको सहभागिता बढाउने काम गर्नुपर्ने उनको तर्क थियो ।

उनले नेप्से सुधारका लागि समयबद्ध कार्य योजना बनाएर अघि बढ्न सरकारलाई सुझाव दिए । ‘पहिला भएकोलाई सुधारौँ । एउटा निश्चित समयसीमा तोकेर सुधारका काम गरौँ । त्यसपछि पनि अर्थतन्त्रको आकारले माग्यो, वित्तीय विविधीकरण हुँदै गयो र नयाँ वित्तीय औजारहरू आए भने दोस्रो एक्सचेन्जको आवश्यकता पर्न सक्छ, तर अहिले हतारमा यो प्रक्रिया अघि बढाउनु हुँदैन,” उनले स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us