
काठमाण्डू, २६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्यसलाई राष्ट्रिय स्तरमा अझै बढी जोड दिने, त्यसको अट्र्याक्सन बढाउनुपर्छ, ‘एनपीएल गौरवको विषय हो, त्यो खेलिनुपर्छ । एनपीएल अघि बढाउने कुरामा सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
साथै उनले सरकारमा आएपछि राजनीति होइन काम गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘सरकारमा पोलिटिकल पार्टी नै आउँछन् । पोलिटिकल पार्टीहरू सरकारमा आएपछि पोलिटिक्स गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो’ उनले भने, ‘खेलको विकास गर्ने हो भने खेललाई अघि बढाउनुपर्छ ।
त्यहाँ राजनीति गर्ने होइन । पोलिटिक्स भन्दा बाहिर खेलमा ध्यान दिनुपर्छ।’ युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । अहिले मन्त्री चौधरीले बनाएको कार्यदलले एनपीएलमा देखिएको विवाद छानिबन गरिरहेको छ ।
सोही क्रममा राखेपको लेटर हेड प्रयोग भएको र यसमा फरक फरक कार्यदल बनेको भन्ने विवाद पनि बाहिरिएको थियो । त्यसैगरी प्रधानमन्त्री ओलीले कीर्तिपुरमा अहिले बन्दै गरेको रंगशाला सानो देखेर चिन्ता नगर्न पनि आग्रह गरे ।
‘कम्तीमा ५० हजारले हेर्नेभन्दा सानो अब रंगशाला हुँदैन । कीर्तिपुरमा अहिले बन्दै गरेको देखेर सानो होला भन्ने नसोच्नुहोला, अर्को चरणमा अझै ठुलो हुनेगरी विस्तार हुन्छ,’ उनले भने ।