
काठमाण्डू, २६ असार– उच्च सुरक्षा संवेदनशील स्थान नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ड्रोन खसालेको आरोपमा पक्राउ परेकाहरु तारेखमा रिहा भएका छन् ।
काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले पक्राउ परेका सबै पाँचैजना तारेखमा रिहा भएका जानकारी दिए ।
प्रहरीले ड्रोन खसालेको आरोपमा बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापक विजयबाबु रेग्मी तथा उक्त कलेजका विद्यार्थीहरू सुजलकाजी श्रेष्ठ, समन महर्जन, अफ्ताव रेजा र समिप खतिवडा बिहीबार पक्राउ परेका थिए ।
सोमबार फेरि हाजिर हुने सर्तमा उनीहरुलाई छाडिएको बोहराको भनाइ छ । प्रधानाध्यापक लक्ष्मण पोखरेलले बनाएको ड्रोन परिक्षणका क्रममा संसद् भवनमा खसेको थियो । गत २४ असारको बिहान संसद् भवन परिसरमा ड्रोन भेटिएको थियो ।
संसद् भवन परिसरमा ड्रोन खसेको विषयमा काँग्रेस सांसद् एवं संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।