नक्कली शरणार्थी प्रकरण : १६ जनालाई नै थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु टुडे २०८० जेठ ९ गते १७:२८ मा प्रकाशित

काठमाण्डु ,९ जेठ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ ।

प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो ।यससँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै म्याद २ दिन थपिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।

यसअघि सोमबार प्रहरीले शरणार्थी प्रकरणमा भएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us