प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

काठमाण्डु टुडे २०८० जेठ ८ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, ८ जेठ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डुले दुई महिना लामो अनुसन्धानपछि सोमबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा तिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

प्रहरीले यसको अनुसन्धान ठगी एवं संगठित अपराधमा गरिरहेको थियो। तर उच्च राजनीतिक तहका नेताहरूले नै नेपालीलाई अनागरिक बनाउन चलखेल गरेको अनुसन्धानबाट देखिएपछि राज्यविरूद्धको कसुरमा समेत मुद्दा चलाउनुपर्ने रायसहित प्रस्ताव गर्ने तयारी गरेको थियो।प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ।

यसअघि २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरूद्ध थप पीडितले जाहेरी दिएका थिए। त्यससँगै बिगो रकम बढेको हो।प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो।

सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मंगलबार अदालतमा पेश गर्नुपर्ने बताएको छ। यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार समेत छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us