
काठमाण्डू, ११ जेठ । तीनकुने हिंसाका मुख्य योजनाकार एवं पूर्वराजा ज्ञानेन्द्र शाहका जनकमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्काविरूद्ध मुद्धा नचल्ने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले खड्काविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।
खड्का हिंसा र आगजनीमा प्रत्यक्ष संलग्न नदेखिएकाले मुद्धा नचलाउने निर्णय गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
काफ्लेले खड्काले सुरक्षा गार्डका रुपमा मात्र भूमिका निर्वाह गरेको र हिंसात्मक घटनामा संलग्न नभएको बताए ।
खड्कालाई प्रसाईंसँगै प्रहरीले गत २९ चैतमा भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
तीनकुने हिंसामा संलग्न रहेको आरोपमा पक्राउ परेका गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, अनिता कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतविरुद्ध पनि मुद्धा नचलाउने निर्णय भएको छ ।
हालसम्मको अनुसन्धानले उनीहरुविरुद्धको वस्तुनिष्ठ प्रमाण फेला नपरेको सरकारी वकिल कार्यालयले जनाएको छ । यसैबीच प्रहरीले खड्कासहित ९ जनालाई रिहा गरेको छ ।