
काठमाण्डू, ११ जेठ- १५ चैतमा भएको तीनकुने हिंसा र नरसंहारका जनकमाण्डर दुर्गा प्रसाईंले घटनाको अघिल्लो दिन १४ चैतमा आफूले
पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूमा दिएको बयानमा प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेको बताएका हुन् ।
उनले पूर्वराजा शाह र आफूबीच ५ वर्षको अवधिमा पटकपटक भेट भएको बताए ।
नेताहरुबाट मुलुक नचल्ने अवस्था आएपछि आफूले पूर्वराजालाई मुलुकको नेतृत्व लिनका लागि अग्रसर हुन आग्रह गर्न गएको उल्लेख गरेका छन् ।
नेपाल पृथ्वीनारायण शाहले आर्जेको मुलुक भएको र त्यसको जिम्मा लिनका लागि अगाडि बढ्न पूर्वराजा शाहलाई आग्रह गरेको प्रसाईंले बताएका छन् ।
पूर्वराजा शाहले राप्रपा नेताहरुसँगको बैठकमा तीनकुने घटनाअघि प्रसाईंलाई आफूले नभेटेको दाबी गरेका थिए ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले आइतबार प्रसाईंसहित ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाण्डूमा राज्यविरूद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्धा दायर गरेको छ ।