एभरेस्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना, शाखा प्रमुखसहित ९ जना पक्राउ

काठमाण्डु टुडे २०८० जेठ ६ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलेको छ ।

उक्त हिनामिनामा बैंकका कर्मचारीहरु नै संलग्न रहेका पाइएको प्रहरीले बताएको छ । बचतकर्ताको रकम हिनामिना गरेर ठगी गरेको आरोपमा प्रहरीले एभरेस्ट बैंकको इटहरी शाखाका प्रमुखसहित ९ जना कर्मचारीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जनाको संलग्नता रहेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० राजकुमार राईले जानकारी दिएका छन ।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना बचतकर्ताको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ‘चोरी’ भएको पाइएको डीएसपी राईले जानकारी दिएका छन ।

ग्राहकको खाताबाट रकम निकालेर ठगी गरेको कसुरमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज विराटनगर घर भएका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया पवित्रा कटवाल रहेका छन्।

रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राईले जानकारी दिएका छन ।

एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज प्रधानलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो। यस्तै, धनुषाका भुजेललाई वैशाख १० र भक्तपुरका खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा एभरेस्ट बैंकको इटहरी शाखाका इञ्चार्ज सहित समेतको संलग्नता देखिएपछि उनीहरुलाई जेठ ५ गते पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us