
काठमाण्डु, ३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको ठगी प्रकरणमा ध्यानाकर्षण भएको जनाएको छ ।
आज (बुधबार) आयोगको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी तथा दलका परिवारसमेतको संलग्नता एवं संरक्षणमा ठूलो रकम उठाएको भनिएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
उनले यो संगठित अपराधमा संलग्न व्यक्तिहरुविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ छानबिन अगाडि बढाएकोमा आयोगले प्रशंसा गरेको बताए ।
उनले राजनीतिक संरक्षणमा हुने यस प्रकारका आपराधिक क्रियाकलापमाथि आयोगले सदैव खबरदारी गर्दै आइरहेको बताएका छन । उनले राज्य शक्तिको दुरुपयोगमा भएको यस्तो कृत्य गम्भीर प्रकृतिको भ्रष्टाचारको विषय मात्र नभई मानव बेचबिखन र ठगी जस्तो अपराध समेत हो भन्ने आयोगको निष्कर्ष रहेको बताएका छन ।
उनले नागरिकको सेवा र रक्षामा खटिएका निकायहरुबाट यस किसिमको कार्य हुनु लोकतन्त्रको लागि चिन्ताको विषय बनेको बताएका छन ।
अध्यक्ष मगरले भने, ‘मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ को धारा ७, नेपालको संविधानको धारा १८ ९१० ले सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख गरेको छ ।
तसर्थ, भ्रष्टाचारका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समेत आयोग आग्रह गर्दछ ।’